भोटेकोशी बाढीपीडितका लागि मधेसको सहयोग सराहनीय : प्रचण्ड

Naya Sansar Online TV 75+ समाचार ( )
मधेस–पहाडको एकता र सद्भावले राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास
२७ भाद्र २०८३

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन्।

सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा शुक्रबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले विपद्का बेला मधेस र पहाडबीच देखिएको सहयोग, सद्भाव र एकता प्रशंसनीय रहेको बताए।

“अहिले पहाडका जनतालाई मधेसका जनताको साथ र सहयोग चाहिएको छ। त्यसका लागि मधेसका जनताले खुला हृदयले सहयोग गरिरहनुभएको छ,” उनले भने।

प्रचण्डले पहाडमा पीडा हुँदा मधेसले र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने नेपाली परम्परा सकारात्मक रहेको उल्लेख गर्दै भोटेकोशी बाढीपीडितका लागि मधेसबाट पठाइएको राहतले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको प्रभाव तीव्ररूपमा देखिन थालेको बताउँदै उनले भोटेकोशीमा आएको बाढीको कारण र त्यसबाट भएको क्षतिको वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए।

जलवायु परिवर्तनकै कारण नेपालमा यस्ता ठूला विपद् बढिरहेको दाबी गर्दै प्रचण्डले विपद् न्यूनीकरण तथा प्रभावित नागरिकको सहयोगमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार