दक्षिण कोरियामा जेजु एयरको जहाज दुर्घटना, १ सय ७९ जनाको मृत्यु

NayaSansarOnlineTV 1+ समाचार ( )
थाइल्यान्डको राजधानी बैंककबाट उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका चार सदस्यसहित १ सय ७९ जनाको ज्यान गएको छ।
१५ पौष २०८१

काठमाडौँ— थाइल्यान्डको राजधानी बैंककबाट उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका चार सदस्यसहित १ सय ७९ जनाको ज्यान गएको छ।

दुर्घटनामा परेका जहाजमा रहेका ६ चालक दलका सदस्यमध्ये अन्तिम सिटमा रहेका दुई क्याबिन क्रुलाई जीवितै उद्धार गरिएको छ। जीवित रहेका ३३ वर्षीय फ्लाइट अटेन्डेन्टले चिकित्सकहरूसँग संवाद गरिरहेका छन् भने २५ वर्षीया परिचारिकाको स्वास्थ्य अवस्था स्थिर रहेको दक्षिण कोरियाको योनहाप समाचार संस्थाले जनाएको छ।

दुर्घटना स्थानीय समयअनुसार बिहान ९ बजे भएको हो। मुआन विमानस्थलमा अवतरणको तयारी गर्दै गर्दा धावनमार्गमा चिप्लिएको जहाज जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

दुर्घटनामा मृत्यु हुनेमा ८५ महिला र ८४ पुरुष छन्। यात्रुमध्ये १ सय ७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए। दुर्घटनास्थल राजधानी सोलदेखि करिब २ सय ८९ किलोमिटर दक्षिण-पश्चिममा पर्छ।

जेजु एयरको बोइङ विमान उडान नम्बर–२२१६ राति साढे २ बजे बैंककबाट उडेको थियो। करिब साढे चार घण्टाको यो उडान मुआन विमानस्थलमा बिहान ८ः५४ बजे अवतरण हुने तालिका थियो।

कोरियाको यातायात मन्त्रालयका अनुसार अवतरणका क्रममा जहाजका ल्यान्डिङ गियर नखुल्नुलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ। अमेरिकी समाचार संस्था ‘सीएनएन’ले विमानस्थलमा रहेका अग्निनियन्त्रक र उडान विश्लेषकलाई उद्धृत गर्दै ल्यान्डिङ गियरमा खराबीका कारण यो दुर्घटना भएको जनाएको छ।

दुर्घटनाको समयमा हवाई ट्राफिक कन्ट्रोलले पाइलटलाई ‘अप्रोच’ मार्गमा चरा भएको सूचना दिएको थियो। विमानस्थलमा आगलागी नियन्त्रणका लागि तत्काल प्रयास गरिए पनि जहाज पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ।

दक्षिण कोरियाका अधिकारीहरूले घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार