रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गंगापिपरा सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवा दम्पतीको मृत्यु भएको छ।>
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो। स्थानीयवासीले सडक किनारमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।>
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गंगापिपरा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।>
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी श्रीमती २२ वर्षीया पुनम देवी साह गम्भीर घाइते भएका थिए। टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका दुवैलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो।>
जिल्ला प्रहरी प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार उपचारकै क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।>
घटनापछि स्थानीयवासीमा शोकको वातावरण छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।>>