‘हाकिम पठाऊ, बजेट बचाऊ’ भन्दै रौतहटमा प्रधानमन्त्री बालेनको पुतला दहन, मौलापुरमा चर्कियो जनआक्रोश

Naya Sansar Online TV 66+ समाचार ( )
२५ असार २०८३

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयवासीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।

नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको कारण विकास निर्माणका काम प्रभावित भएको तथा चालु आर्थिक वर्षको बजेटसमेत कार्यान्वयन हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालन गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा तत्काल हाकिम पठाऊ’, ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए।

स्थानीयहरूको भनाइअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई खटाएको भए पनि उनले आफ्नो जिम्मेवारी पूरा नगरेपछि मन्त्रालयले फिर्ता बोलाएको थियो। तर त्यसपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित हुनुका साथै बजेट कार्यान्वयनसमेत अन्योलमा परेको उनीहरूको आरोप छ।

प्रदर्शनकारीहरूले विकास निर्माणलाई तीव्रता दिनुपर्ने महत्वपूर्ण समयमा नगरपालिकालाई नेतृत्वविहीन बनाउनु जनहितविपरीत भएको बताएका छन्। उनीहरूले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाई नगरपालिकाको प्रशासनिक तथा विकास निर्माणको काम सुचारु गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार