रौतहट–३ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पुनम यादवले महिला, किसान र युवाको भविष्य सुनिश्चित नगरी देश वा क्षेत्रको समृद्धि सम्भव नहुने स्पष्ट बताउनुभएको छ।>
आज बिहीबार गुजरा नगरपालिकामा सम्पन्न नगर भेलालाई सम्बोधन गर्दै यादवले भनिन्, “महिला, किसान र युवालाई केवल भाषणमा होइन, नीति र कार्यक्रममा प्राथमिकतामा राख्न सके मात्र वास्तविक विकास सम्भव हुन्छ।”>
उनले महिलालाई कमजोर ठान्ने सोच अझै समाजमा विद्यमान रहेको उल्लेख गर्दै महिलाको सशक्तिकरण बिना समावेशी विकास सम्भव नहुने बताइन्। “महिला घर–परिवार र समाज दुवैको मेरुदण्ड हुन्, उनीहरूको अधिकार र अवसर सुनिश्चित नगरी समृद्धिको कल्पना भ्रम मात्र हो,” उनको भनाइ थियो।>
यस्तै, किसानको समस्या समाधान नगरी ग्रामीण अर्थतन्त्र बलियो नबन्ने उल्लेख गर्दै यादवले उत्पादन, बजार र उचित मूल्य सुनिश्चित गर्न राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताइन्। युवालाई रोजगारीका लागि विदेशिन बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन्।>
नगर भेलामा उपस्थित पार्टी नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूलाई सम्बोधन गर्दै यादवले आफू निर्वाचित भएमा रौतहट–३ लाई रोजगारी, स्वास्थ्य, शिक्षा र कृषि केन्द्रित विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्।>
उनको भनाइमा, “राजनीति व्यक्तिगत लाभका लागि होइन, जनताको भविष्य सुरक्षित गर्ने माध्यम हुनुपर्छ।” गुजरा नगरपालिकामा सम्पन्न उक्त नगर भेलाले स्थानीयस्तरमा चुनावी माहोल थप उत्साहित बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।>>