महिला नेतृ पुनम यादवले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेकी छन्। उनले आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत उक्त निर्णय सार्वजनिक गरेकी हुन्।>
यादवले आफ्नो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई गहिरो सोच–विचार र आत्ममूल्याङ्कनपछि लिइएको स्पष्ट पारेकी छन्। उनले नेपाली कम्युनिष्ट पार्टीमा १० वर्षभन्दा बढी समय इमान्दारिता र सक्रियताका साथ बिताएको उल्लेख गर्दै अब उक्त राजनीतिक यात्रालाई यहीँबाट टुंग्याउने निर्णय गरेको बताइन्।>
उनका अनुसार अबका दिनमा उनी कुनै पनि राजनीतिक दल वा समूहसँग आबद्ध नहुने र स्वतन्त्र रूपमा सामाजिक, नागरिक तथा जनसरोकारका विषयमा सक्रिय रहनेछिन्।>
राजनीतिक यात्राका क्रममा साथ, सहयोग, माया र विश्वास प्रदान गर्ने सम्पूर्ण समर्थक तथा शुभेच्छुकहरूप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट–३ बाट आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति उनले विशेष धन्यवाद दिएकी छन्।>
उनले आफ्नो सन्देशको अन्त्यमा “तपाईंहरू सबैको जय होस्, नेपालको जय होस्!” भन्दै देश र जनताप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएकी छन्।>
उनको यो घोषणाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने स्थानीय तथा राष्ट्रिय राजनीतिमा पनि नयाँ बहस सुरु हुने संकेत देखिएको छ।>>